मेलम्ची, असोज २५ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ ।
दसैं मनाउन गाउँ गएका यात्री राजधानी फर्कनेक्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।
बा२ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालककोसमेत मृत्यु भएको थियो ।
केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ‘ओभरलोड’कै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए । रासस
प्रतिक्रिया दिनुहोस्