२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महराले सांसदकारुपमा पाउने सेवा–सुविधा स्थगित


0
Shares

काठमाडौं, असोज २३ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदकारुपमा पाउने सेवा–सुविधा स्थगित भएको छ ।

संसद सचिवालयले बिहीबार सूचना प्रकाशित गरी पक्राउसम्बन्धी जानकारी गराएलगत्तै महराले सांसदकारुपमा गर्ने काम र पाउने सुविधा स्थगित भएको जनाएको हो ।

‘जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा निर्वतमान सभामुख महरालाई काठमाडौं जिल्ला अदालतबाट असोज १९ गते पक्राउ अनुमति प्राप्त भइ सभामुख निवासबाट १९ गते नै उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको व्यहोरा उपसभामुखलाई जानकारी गराइएको हुँदा प्रतिनिधिसभा नियमावलीको नियम २४४ उपनियम ३ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ’–संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनापत्रमा उल्लेख छ ।

सूचना प्रकाशित भएसँगै महराले सांसदकारुपमा प्राप्त गर्ने सम्पूर्ण सेवा–सुविधा स्थगित भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ र २ मा कुनैपनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता गर्ने व्यक्तिले प्राप्त गरेमा सदन चालू रहेको अवस्थामा तत्काल सभालाई जानकारी गराउने र चालू नरहेको अवस्थामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने व्यवस्था छ ।

यस्तै, सोही नियमावलीको नियम २४४ को उपनियम ३ मा सेवा–सुविधा स्थगितको व्यवस्था उल्लेख छ ।

कुनैपनि सांसद फौजदारी अभियोगमा पक्राउ पर्नेबित्तिकै मुद्दाको किनारा नलाग्दासम्म निजको सांसद पद निलम्बन हुने व्यवस्था रहेको छ ।