२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


मर्चेन्ट बैंकरको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता स्थगन


0
Shares

काठमाडौं, साउन ९ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता स्थगन गरेको छ ।

हाललाई थप निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार आवश्यकता नरहेको भन्दै बोर्डले उक्त निर्णय गरेको हो ।

हाल बोर्डको प्रक्रियामा प्रवेश गरिसकेका आवेदनहरुलाई कानुनी प्रक्रियाअनुसार कार्य अगाडि बढाइने तर अर्को व्यवस्था नभएसम्मका लागि सो आवेदन दर्ताकार्य भने स्थगन गरिएको बोर्डले जनाएको हो ।

धितोपत्र बजारको विकाससँगै धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को संख्या बढ्दै गइरहेको बोर्डले जनाएको छ । हाल २५ मर्चेन्ट बैंकरले अनुमतिपत्र पाएका छन् ।

त्यसमध्ये सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय (निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा) प्रदान गर्ने संस्था ६ ओटा रहेका छन् ।

संस्थागत परामर्श सेवाबाहेक चारओटा व्यवसाय गर्ने संस्था १० पुगेका छन् । तीनओटा निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेसनमात्र व्यवसाय गर्ने संस्था र सेयर रजिष्ट्रेसन र लगानी व्यवस्थापन व्यवसायमात्र गर्ने संस्था एक/एकओटा रहेका छन् ।

यसैगरी, लगानी व्यवस्थापन व्यवसायमात्र गर्ने संस्था ७ पुगेको बोर्डले जनाएको छ ।

मर्चेन्ट बैंकरहरुले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पुँजीबजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा बोर्डले २०७४ सालमा नियमावलीमा संशोधनसमेत गरेको थियो ।

मर्चेन्ट बैंकरको चुक्तापुँजीमा चारगुणासम्म वृद्धि तथा कार्यक्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवासमेत प्रदान गर्नसक्ने व्यवस्था बोर्डले गरेको थियो ।