
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, असोज २३ । पाँचथरमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ ।
याङवरक गाउँपालिका–६, नागीमा स्थानीय अर्जुन माबोको हत्या गरिएको हो ।
बुधबार राति स्थानीय आइतराज योङहाङले छुरा प्रहार गरी आफ्ना फुपाजु माबोको हत्या गरेको जनाइएको छ ।
घरमा कुराकानी गरेर बसिरहेको समयमा योङहाङले माबोलाई एक्कासि छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका अन्दाजी ४२ वर्षीय माबो नागीका मोहनसिँ योङहाङका ज्वाइँ हुन् । उनी ससुराली घरमा घरज्वाइँ बस्दै आएको बताइएको छ ।
योङहाङले माबोलाई दाहिने पेटमा छुरा प्रहार गरेको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिए ।
छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरिसकेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्