
काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गर्नुभएको हो ।
उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताउनुभयो ।
भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताउनुभयो ।
कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताउनुभयो ।
उहाँले अलि तातोतातो पानी लिदै नस लिदै नाक सफा गरेरै कोरोनालाई चैट पारिदिन सुझाब दिनुभयो ।
नुन पानी, अम्बाका पाल उमालेको पानीले गारगल गरेर कोरोना भगाउन पनि उहाँले सुझाब दिनुभयो ।
हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि नगर्ने भएकाले साबधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
आफुले अहिले कोभिडका विषयमा कुरा नगरेर व्यवसायीका राजनीतिका दाउपेचका कुरा गर्नु त भनि व्यवसायीहरुसंग प्रश्न गर्नुभयो ।
अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्