
काठमाडौं, साउन ९ । सरकार र डा. गोविन्द केसीपक्षबीचको वार्ता सहमतिमा पुर्याउनका लागि आज पनि विहानैदेखि विभिन्न प्रयास भइरहेको छ ।
दुबै पक्षबीच औपचारिक वार्ता शुरु नभए पनि राजनीतिक स्तरमा सहमति जुटाउन पहल भइरहेको छ ।
हिजो राति गरिएको वार्ता सकारात्मक बनेको दुबै पक्षको भनाइ छ ।
सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी पक्षका वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले राति विज्ञप्ति निकाली वार्ता सकारात्मक बनेको उल्लेख गरेका हुन् ।
लामो समयको संवादहीनता तोडिएकाले सरकार र डा. केसी पक्षबीचको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेको तथा सरकारी पक्ष विधेयक संशोधनका लागि सकारात्मक देखिएको हो ।
वार्ताका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए ।
नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
त्यसपछि मात्रै सरकारी टोली र डा. केसी पक्षबीच वार्ता हुने वातावरण बनेको थियो ।
आजै दुवै पक्षबीच वार्ता हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्