जिम्बाब्वेमाथि सिंगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा • Image Khabar Image Khabar


जिम्बाब्वेमाथि सिंगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा


Imagekhabar
१३ आश्विन २०७६, सोमबार ०९:२४

जिम्बाब्वेमाथि सिंगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा

काठमाडौं, असोज १३ । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत् घरेलु टोली सिंगापुरले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।

आइतबार सिंगापुरले टेस्ट मान्यताप्राप्त टोली जिम्बाब्वेलाई ४ रनले हराएको हो । आइसीसीको पूर्ण सदस्य टोली जिम्बाब्वेमाथि सिंगापुरको यो पहिलो जित हो ।

योसँगै तीन टोली सम्मिलित शृंखलामा तीनओटै टोलीको समान दुई खेलबाट समान २/२ अंक भएको छ । शृंखलाको अर्को टोली नेपाल हो ।

तीनओटै टोलीले समान एक जित र एक हार व्यहोरेका हुन् ।

जिम्बाब्वेको हारपछि नेपालमा अंकतालिका शीर्ष स्थानमा रहेको छ । तीनै टोलीको अंक समान हुँदा नेपाल ‘नेट रनरेट’का आधारमा शीर्ष स्थानमा रहेको हो । दोस्रो स्थानमा जिम्बाब्वे र तेस्रो स्थानमा सिंगापुर रहेको छ ।

शृंखलामा सबैले आपसमा दुई/दुईओटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

आइतबार वर्षाका कारण सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेल १८ ओभरमा झारिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित् १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन जोड्यो ।

सिंगापुरका लागि मनप्रीत सिंहले २३ बलमा ४१ रन तथा टिम डेभिडले २४ बलमा समान ४१ रन बनाए ।

उसका ओपनर रोहन रंगराजन २२ बलमा ३९ रन बनाएर ‘रनआउट’ हुँदै पवेलियन फर्किएका थिए । यस्तै, सुरेन्द्रन् चन्द्रमोहनले १७ बलमा २३ रनको योगदान दिए ।

जिम्बाब्वेका रायन ब्रुलले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १८२ रनको विजय लक्ष्य पच्छ्याएको जिम्बाब्वेले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउन सक्यो ।

जिम्बाब्वेका कप्तान सिन विलियम्सले ३५ बलमा सर्वाधिक ६६ रनको योगदान गरे ।

ओपनर रेगिस चकाभाले १९ बलमा ४८ रन बनाएको जिम्बाब्वेको इनिङ्समा टिनोटेन्डा मुटोम्बोजीले ३२ रन जोडे । उसका अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले २/२ विकेट लिए ।

शृंखलाअन्तर्गत् नेपालले अब मंगलबार पुनः जिम्बाब्वेसित र बुधबार सिंगापुरसित खेल्नेछ ।

नेपाल पहिलो खेलमा जिम्बाब्वेसित पराजित भएको थियो भने दोस्रो खेलमा सिंगापुरलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्