
-कविराज घिमिरे/ईमेज:
धनकुटा । झरनाको शिरबाट खसेको ढुङ्गा लागेर एक ब्यक्तिको मृत्यु भएपछि पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको नमस्ते झरना एक महिना यता बन्द छ ।
झरना बन्द भएसँगै तराईसहित भारतबाट आउने सयौं पर्यटक निराश हुने गरेका छन् । झरनाको चिसो पानीमा रमाउन तराई सहित भारतबाट देनिक सयौ पर्यटक पुग्ने गरेका छन् ।
तर झरना ब्यबस्थापन समितिले एक महिना यता झरना प्रवेशमा रोक लगाए सँगै दैनिक सयौं पर्यटक निरास हुँदै फर्कन बाध्य छन् ।
जेठकोे अन्तिम साता नमस्ते झरनाको चिसो पानीमा रमाउँदै गरेका इटहरीका निवासी एक व्यक्तिको झरनाको शिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएपछि झरना व्यवस्थापन समितिले अनिश्चितकाल सम्मको लागि पर्यटकलाई प्रवेशमा रोक लगाएको हो ।
झरना हेर्न नपाउँदा दुखि भएको इटहरी सुनसरीका श्रीप्रसाद यादव बताउँछन् । नमस्ते झरना अबलोकनको लागि दैनिक १५ सय सम्म पर्यटक आउने गर्दथे । यहाँ आउने अधिकांश पर्यटक भारतीय हुन् ।
झरना जोखिमपुर्ण भएपछि वरिपरी ढुंगा खस्न सक्ने ठाउँ पहिचान गरेर तारजाली लगाउने कार्य धमाधम भइरहेको कारण केही दिनका लागि पर्यटकलाई झर्ना प्रवेशमा रोक लगाइएको व्यवस्था समितिका अध्यक्ष दिलिप सुब्बाले जानकारी दिए ।
झरना व्यवस्थापन समितिले सर्वपक्षिय छलफलपछि असार १ गतेबाट पर्यटकलाई झर्ना प्रवेशमा रोक लगाएको हो ।
प्रवेशमा रोक लगाएपछि झरना आसपास सञ्चालित तीन दर्जन भन्दा बढी होटलहरु अहिले सुनसान अवस्थामा छन् ।
झरना आसपासका क्षेत्रमा मात्र नभइ भेडेटार, धरानलगायतका क्षेत्रमा समेत सञ्चालित होटल व्यवसायमा प्रत्यक्ष असर पुगेको ब्यवसायी बताउँछन् ।
धरानदेखि आएर झरना परिसरमा होटल संचालन गरिरहेका गोपाल विष्ट ब्यापार सुन्य भएको बताउँछन् ।
झरना सञ्चालनमा नआउँदा धनकुटाका पर्यटकिय स्थलको आर्थिक गतिबिधि समेत घट्नुको साथै दैनिक सयौ पर्यटक निरास हँुदै फर्कन बाध्य छन् ।
जोखिमपुर्ण बनेको झरनाको चाँडौ ब्यबस्थापन गरी प्रवेश खुलाउन स्थानीयबासिन्दा, होटल ब्यबसायी तथा पर्यटकको माग छ ।
प्रतिक्रिया दिनुहोस्