
काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो । यही वेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो ।
बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ । यसबाहेक मुलुकका विभिन्न बस्तीमा आगलागी भएको छ । आकाश तुँवालोले ढाक्नुका साथै पानी नपर्दा शुक्रबार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा ३०८ सम्म पुगेको थियो ।
शुक्रबार अपराह्न २ बजेयता काठमाडौंमा वायुको गुणस्तर सूचकांक एक्युआई ४७० सम्म पुग्यो । चितवन, धुलिखेल, पोखरा, सिमरा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च पुगेको छ । जब कि यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुँवालोका कारण ‘भिजिबिलिटी’ कम हुँदा शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भयो ।
प्रतिक्रिया दिनुहोस्