२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित


0
Shares

काठमाडौं, असोज ११ । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल पहिलो खेलमा जिम्बाब्वेसित पराजित भएको छ ।

नेपाल टेस्ट राष्ट्र जिम्बाब्वेसित ५ विकेटले पराजित भएको हो ।

शुक्रबार भएको खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बाब्वेले ११ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जिम्बाब्वेको जितमा रायन ब्रुलले अविजित रहँदै ४१ रन तथा रिचमोन्ड मुटुम्बमीले अविजित रहँदै ४० रन बनाए । ओपनर ब्रेयन चरीले १९ रन जोडे ।

उसका कप्तानसहित तीन ब्याट्सम्यानलाई नेपाली बलर सन्दीप लामिछानेले शून्य रनमा आउट गरेका थिए । यस्तै, कप्तान पारस खड्काले एक विकेट झारे ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले संयमित खेल्नेक्रममा ३३ बलमा ४० तथा सोमपाल कामीले आक्रामक खेल्नेक्रममा १४ बलमा अविजित रहँदै २५ रन बनाए ।

कप्तान पारसले १८ रन बनाए भने विनोद भण्डारीले अविजित रहँदै ११ रन जोडे । सन्दीप जोराले १७ रनको योगदान गरे । आरिफ शेख ८ रन बनाएर पवेलियन फर्किए ।

‘डेब्यु’ खेलाडीहरु इशान पाण्डे र कुशल मल्लले क्रमशः ४ र २ रनमात्रै बनाए ।

राष्ट्रिय टोलीका तीन नियमित र अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र वसन्त रेग्मी योपटक टोलीमा छैनन् ।

शृंखलाअन्तर्गत् नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसित खेल्नेछ ।

शृंखलामा सबैले आपसमा दुई/दुईओटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।