Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


‘मिटर ब्याजी’ साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश


0
Shares

सर्लाही, असोज १० । जिल्ला अदालत सर्लाहीले ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत सर्लाहीका एक नम्बर न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

साहविरुद्ध नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको ब्याजको दरभन्दा निकै बढी दरमा ऋण प्रवाह गरेको, महिला तथा बालिकालाई अभद्र व्यवहार गरेको आरोपको जाहेरी परेपछि प्रहरीले साहलाई गएको भदौ १५ गते साँझ सदरमुकाम मलंगवाबाट पक्राउ गरेको थियो ।

अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको साहलाई रौतहट सदरमुकामस्थित गौर कारागार चलान गरिने सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरले बताए ।