काठमाडौं, असोज १० । कृषि विकास बैंक र पानस रेमिटको ‘सफ्टवेयर ह्याक’ गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीनजनालाई शुक्रबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाकाअनुसार कन्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौंबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो ।
बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेलापरेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
बिहीबार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।
भुसालको बैंक खातामा रु ६५ लाख जम्मा भएको पाइएको प्रहरीले जनाएको छ ।
महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेका १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रहरीकाअनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिका नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँबानेश्वरबाट रु १२ लाख निकालेका थिए ।
रु १० लाख हुन्डीमार्फत् विदेशी ‘ह्याकर’लाई पैसा पठाएपनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ ।
यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाइ नेपाली ‘एजेन्ट’लाई प्रयोग गरेको खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्