
नवीन शर्मा र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असोज १० । नेपाल भ्रमणमा आएका कतिपय पर्यटकहरु विभिन्न कारणले अलपत्र पर्ने गर्दछन् ।
त्यस्ता पर्यटकको उद्धार र समन्वयमा पर्यटक प्रहरी क्रियाशील हुँदै आइरहेको छ ।
विश्वव्यापी मान्यताअनुसार कुनैपनि पर्यटक आफूलाई सुरक्षित महसुस नगरिकन यात्रा गर्दैनन् ।
नेपाल सरकारले पनि यहाँ आएका पर्यटकहरुलाई आउनसक्ने समस्या र त्यसको समाधानका लागि २०३५ सालमा पर्यटक प्रहरी इकाइको स्थापना गरेको हो ।
पर्यटक प्रहरीलाई पर्यटन क्षेत्रको महत्वपूर्ण अंगकोरुपमा लिँदै यहाँ आउने पाहुनाको गुनासोलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
पर्यटक प्रहरी इकाइमा पर्यटकहरुका दिनहुँ केही न केही गुनासाहरु आउने गरेका छन् ।
कोही अलपत्र परेका हुन्छन् । केही त मानसिक सन्तुलन गुमेर सडकमा भौंतारिइरहेका हुन्छन् ।
मानसिक सन्तुलन गुमाएका पर्यटकको सवालामा भने उनीहरुलाई निगरानीमा राख्दै सर्वप्रथम उपचारका लागि अस्पताल पुर्याइन्छ र त्यसपछि सम्बन्धित व्यक्तिको आफन्तलाई बुझाउने गरिएको छ ।
पर्यटकहरुको सुरक्षाका लागि स्थापना भएको पर्यटक प्रहरीको दायित्व पनि पछिल्लो समय बढ्दै गइरहेको छ ।
संख्या बढेसँगै आउने गुनासोलाई सम्बोधन गर्नु र नेपाल सुरक्षित रहेको सन्देश दिनुपर्ने चुनौतीे पर्यटक प्रहरीमाझ रहेको छ ।
शुक्रबार पर्यटन दिवस २०१९ को अवसरमा पर्यटन व्यवसायमा आवद्ध संघ–संस्थाहरुले पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपाल पर्यटकीय गन्तव्यकोरुपमा उत्कृष्ट रहेको भन्दै लक्षित उद्देश्यलाई पूरा गर्न सबैले सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्