
काठमाडौं, साउन ८ । नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराइ अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बर्दिया, साविक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले वनस्पतिजन्य पदार्थको विष तयार गरेर खानासमेतमा राखी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो ।
सिंहलगायतले उक्त घटना घटाएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकीदारलाई दोषी साबित गराइ आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकीदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको छ ।
सिंहले हत्याको योजना तथा विष तयार र त्यसको प्रयोगमा मनोजकुमार चौरसियासमेतको सहयोग लिएको र विष बनाउन आवश्यक पर्ने वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले जेलभित्र पुर्याउने कार्य गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त सिंहले विगतमा पनि सुर्खेत, भक्तपुर, रुपन्देही र जनकपुरमासमेत ज्यानमार्ने उद्योगमासमेत विषादीको प्रयोग गरी घटना घटाएको पाइएको प्रहरीले जनाएको छ ।
सो घटनाका ‘मुख्य योजनाकार’ बाँके, नेपालगन्ज उपमहानगरपालिका–४ का सिंह, सहयोगी सप्तरीका मनोजकुमार चौरसिया र अर्का सहयोगी दोलखाका ध्रुवकृष्ण शर्मालाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरमा पेस गरिएको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्