काठमाडौं, असोज ८ । नेपाल प्रहरीले कृषि विकास बैंकको लाहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ ‘ह्याक’ गरी चोरी गर्ने एक गिरोहलाइ पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले पक्राउ गरी मुख्य आरोपी चारजनालाई बुधबार सार्वजनिक गरेको हो ।
भारतको नयाँदिल्लीमा बस्दै आएका पिटर नामक विदेशीले नेपाली नागरिकहरु प्रयोग गरी कृषि विकास बैंकबाट रकम लुटेका हुन् ।
यो गिरोहले कैलाश विकास बैंक, नबिल बैंक र पानस रेमिटबाटसमेत रकम ह्याक गरेको खुलासा भएको छ ।
पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सन्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढा रहेको प्रहरी जनाएको छ ।
पिटरले यी व्यक्तिहरु प्रयोग गरी हुन्डीमार्फत् रकम बुझ्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।
नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने उनीहरुको योजनालाई प्रहरीले विफल पारेको उनको भनाइ छ ।
पिटर नामका विदेशीले रकम ह्याक गरी गिरोहका नेपाली सदस्यहरुको खातामा पठाउने र हुन्डी गरेवापत् १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेकोे अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुरअन्तर्गत् कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्