प्रकाश मैनाली/ईमेज
सर्लाही । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन सक्ने बताएका छन् ।
उनले बढ्दो चुरे विनाश रोकेर तत्काल संरक्षणको काम गर्नुपर्नेमा जोड दिए ।
मंगलबार सर्लाही सदरमुकाम मलङ्गवामा प्रदेश स्तरीय जोखिम न्यूनिकरण गर्न नीति निर्माण र रणनीति तय गर्न आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले तराईको लाईफ लाईनको रुपमा रहेको चुरेको संरक्षणमा स्थानीयवासीलाई साथमा लिएर तीन तहको सरकारको पहलमा तत्काल अभियान अघि बढाउनुपर्ने बताए ।
बाढी, पहिरो, आगलागीजस्ता प्रकोप नियन्त्रणका लागि स्थानीय तहलाई अग्रसर भएर लागि पर्न मन्त्री यादवले आग्रह गरे ।
विपत अघि एक लाख लगानी गरे सात लाखको बचत हुने भन्दै मन्त्री यादवले विपत न्यूनिकरणका लागि सुरक्षाकर्मीलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताए ।
मन्त्री यादवले प्रदेशका आठवटै जिल्लामा यसैगरी सबै पक्षसँग अन्तक्र्रिया गरी जोखिम न्यूनिकरणको रणनीति तय गरिने जानकारी दिए ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित अन्तक्र्रियामा जिल्लाका सुरक्षा प्रमुख, स्थानीय तहका प्रमुख, विपतको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्