
काठमाडौं, साउन ८ । एसिया प्यासिफिक ग्रुप अन मनि लाउन्ड्रिङको २१औं वार्षिक बैठक काठमाडौंमा सुरु भएको छ ।
एसिया प्रशान्त क्षेत्रमा हुने सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलापमा कालोधनको प्रयोग नियन्त्रण, आपसी संयन्त्र विकासलगायतका विषयमा केन्द्रित रहि बैठक सुरु भएको हो ।
बैठकको मंगलबार उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय संरचनाका कारण वित्तीय अपराधको जोखिम बढ्दै गएको बताए ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी र यसका लागि बनेका संयन्त्रका कारण वित्तीय कारोबारमा जोखिम बढिरहेको उनको भनाइ हो ।
प्रविधि र विद्युतीय माध्यमबाट हुने भुक्तानी आतंकवाद वा अरु गैरकानुनी क्षेत्रमा परिचालन हुनसक्ने सम्भावना रहेको भन्दै उनले भुक्तानीमा प्रयोग भएका आधुनिक प्रविधि र गैरबैंकिङ भुक्तानीसम्बन्धी संयन्त्र अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे ।
एसिया प्यासिफिक क्षेत्रमा समानान्तर अर्थतन्त्रको विकासले राजनीतिको अपराधीकरण गरिरहेको टिप्पणी गर्दै उनले यस क्षेत्रमा उठ्ने सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा राजनीतिसँगै जोडिने बताए ।
बैठकमा एसिया प्रशान्त क्षेत्रका २१ देशसहित करिब ५०० प्रतिनिधि सहभागी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्