काठमाडौं । विपन्न जनताको प्राथमिकतामा पर्ने वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी पाँच वर्षदेखि ठप्प छ, तर ४७ करोड खर्च गरेर ल्याइएको टोमोथेरापी मेसिन तीन वर्षसम्म जडान नगरी बिग्रिएको छ ।
वीरमा २३ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ देखि रेडियोथेरापी पूर्ण रूपमा अवरुद्ध भएको हो । विपन्न बिरामीलाई अत्याधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भनेर ०७४ मा ४७ करोड खर्च गरेर टोमोथेरापी मेसिन खरिद गरिएको थियो ।
तर, मेसिन वीर अस्पतालमा ल्याएर जडान गर्नुको सट्टा सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको थियो । तीन वर्षसम्म चौरमै रहेको मेसिन घामपानीबीच खिया लागेको बिग्रिएको छ ।
मेसिन राखेको कन्टेनर प्वाल परेर आकाशको पानी र शित चुहिएको अस्पताल स्रोत बताउँछ । ‘विपन्न जनताको नाममा ४७ करोड खर्च भयो, तर उता मेसिन बिग्रियो, यता जनताको उपचार ठप्प छ,’ वीर अस्पतालका एक कर्मचारी भन्छन्, ‘यो विषयमा न अस्पतालको प्रशासननलाई चासो छ, न जनताबाट निर्वाचित सरकारलाई ।’
अस्पतालका निवर्तमान निर्देशक डा. केदारप्रसाद सेन्चुरी पनि चौरमा थन्किएको ‘टोमोथेरापी’ मेसिनमा समस्या आएको स्विकार्छन् । उनको दुईवर्षे कार्यकाल गत आइतबार मात्रै सकिएको छ । तीन वर्षसम्म अस्पतालले मेसिन चलाउन सार्थक प्रयास गरेन । केही दिनअघि मात्र वीरले मेसिनको अवस्था बुझ्न प्राविधिक टोली पठाएको थियो । टोलीले कन्टेनरभित्र पानी छिरेकाले मेसिनमा खराबी आएकोे प्रतिवेदन दिएको छ ।
‘जर्मन प्राविधिक टिमले बलम्बुमा गएर टोमोथेरापी मेसिनको अवलोकन गरेको छ । तीन वर्षसम्म हिउँद–बर्खामा मेसिन बाहिरै थियो, पानी चुहिएकाले केही खराबी आएको छ,’ डा. सेन्चुरीले भने, ‘मेसिनको क्षमतामा समस्या आएकाले मर्मत गरेर मात्रै वीरमा ल्याउने तयारी भएको छ ।’ तर बिग्रिएको मेसिन बन्छ कि बन्दैन भन्ने प्रश्नमा उनले भने, ‘त्यो त अहिले नै भन्न सकिँदैन ।’
वीर अस्पतालले ०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो । त्यस्तै, कम्पनीले सार्वजनिक निर्माणका लागि भन्दै थप ६ करोड ६६ लाख ६६ हजार चार सय ३० रुपैयाँ गरी ४७ करोड लिएको महालेखाको प्रतिवेदनमा समेत उल्लेख छ ।
पुरानो कोबाल्ट– ६० मेसिन बिग्रिएदेखि रेडियोथेरापी गर्नुपर्ने क्यान्सरका बिरामी समस्यामा पर्दै आएका छन् । टोमोथेरापी वीरमा तत्काल ल्याउन स्थान अभाव भएकोसमेत बताइएको छ । तीन वर्षदेखि कोबाल्ट राखेको स्थान मर्मत गरे पनि हालसम्म ३० प्रतिशत काम भएको छैन । ‘विकिरण बाहिर नजाओस् भनेर कोठा बनाउने काम तीन वर्षदेखि थालिएको हो,’ अर्का एक कर्मचारीले भने, ‘तर, कामको प्रतिफल अहिलेसम्म देखिएको छैन । जसका कारण करोडौँको मेसिन चौरमा नै बिग्रिन पुगेको हो ।’नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्