२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपालले माल्दिभ्ससित अंक बाँड्यो


0
Shares

काठमाडौं, असोज ३ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल काठमाडौंमा सुरु भएको छ ।

शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको उद्घाटन खेलमा आयोजक नेपालले माल्दिभ्ससित १–१ को बराबरीमा चित्त बुझाएको छ ।

खेलको १४औं मिनेटमै नेपालले गोल खाएको थियो । तर, ७४औं मिनेटमा मनिष डाँगीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीको खातामा १/१ अंक भएको छ ।

नेपालले गोलका लागि थुप्रै प्रयास गरे पनि केहीलाई माल्दिभ्सका गोलकिपरले निस्तेज पारे भने केही प्रहार पोलमा ठोक्किएर फर्किंदा भाग्यले पनि साथ नदिएको देखिएको थियो ।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपालले योपटक पनि उपाधि जित्दै प्रतियोगितामा ‘ह्याट्रिक’ गर्ने लक्ष्य लिएको छ ।

नेपालले यो उमेर समूहमा यसअघि भएका दुवै संस्करणको उपाधि जितेको थियो ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसित खेल्नेछ ।

समूह ‘बी’मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको दोस्रो खेलमा शनिबार बंगलादेश र श्रीलंका भिड्नेछन् ।