नवीन सिंह
जनकपुर, असोज ३ । चौथो संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ मा भने त्यसको उत्साह कम देखिएको छ । संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै संशोधनको माग गरिरहेका दलहरुको नेतृत्वमा प्रदेश सरकार गठन भएकाले त्यसको उत्साह नदेखिएको हो ।
०७२ सालमा संविधान जारी हुँदा मधेश केन्द्रित दलहरुले संविधानमा हस्ताक्षर गरेका थिएनन् । संविधान जारी भइसकेपछि पनि महिनौँसम्म आन्दोलन र प्रदर्शन भइरहेका थिए । विरोधका बावजुद यही संविधानमा टेकेर भएको निर्वाचनमा सहभागी भए, र अहिले प्रदेश २ मा समाजवादी पार्टीको नेतृत्वमा राजपासहितका सरकार छ ।
संविधान दिवसको अवसरमा तीनै तहका सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाउन औपचारिक र अनौैपचारिक कार्यक्रम गरिरहेका छन् । ठाउँठाउँमा दीपावली, सभासमारोह र उत्सव गरिएको छ । तर प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति बने पनि अरु प्रदेशमा जस्तो हर्ष र उल्लास भने हुन सकेको छैन ।
संविधान दिवसलाई बहिष्कार गर्दै आएका मधेश केन्द्रित दलहरुको संविधानप्रतिको असन्तुष्टि अझै पनि उत्तिकै छ । संविधानमा संशोधन गरेर बढ्ने ठाउँ भएकाले परिवर्तन गरेर जानुपर्ने प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री एवं समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजय यादवको भनाइ छ ।
संविधान कार्यान्वयन गर्नुपर्ने ओहोदामा बसेर त्यहीँ संविधानको खिल्ली उडाएको भन्दै धेरैले आलोचना गर्दै आएका छन् ।
यता राजपा नेपालका प्रदेश प्रमुख सचेतक परमेश्वर साह भने मधेशी जनताका अधिकारलाई संविधानले कुण्ठित गरेकाले यसलाई सिँढीको रुपमा प्रयोग गर्दै संशोधन नभएसम्म विरोध गरिरहने बताउँछन् ।
संविधान दिवसप्रति मधेश केन्द्रित दल तथा सरकारका मन्त्रीहरु फरक फरक कित्तामा उभिँदा आम जनता भने अन्योलमा छन् । आफ्ना जिम्मेवारी पूरा नगर्ने संविधानको चर्को विरोध गरेर आफ्ना निहीत स्वार्थ पूरा गर्ने प्रवृत्तिप्रति भने जनआक्रोश बढ्दै गएको छ ।
मधेश केन्द्रित दलहरुले प्रदेश सिमाङ्कन, भाषा, नागरिकतालगायतका बिषयमा संशोधन गरिनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्