
काठमाडौं, साउन ८ । प्रा. डा. गोविन्द केसीले मंगलबार २५औं दिन पनि आफ्नो अनशन जारी राखेका छन् ।
उपचार गर्न अस्वीकार गरेका डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ ।
डा. केसीले उठाएका माग सम्बोधन गराउन भन्दै मंगलबारदेखि चिकित्सकहरुलेसमेत रिले अनशन सुरु गरेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार मुलुकभरका ठूला सरकारी अस्पतालमा चिकित्सकहरुले रिले अनशन सुरु गरेका हुन् ।
काठमाडौंको वसन्तपुरमा पनि चिकित्सकहरु रिले अनशनमा बसेका छन् । बिहान १० बजेदेखि गरिएको रिले अनशन अपराह्न ५ बजेसम्म जारी रहने चिकित्सकहरुले जनाएका छन् ।
२५ दिनसम्म पनि सरकारले माग पूरा गराउन चासो नदेखाएको भन्दै रिले अनशन सुरु गरेको चिकित्सकहरुले जनाएका छन् । रिले अनशनमा बसे पनि चिकित्सकहरुले अस्पतालको सेवा भने बन्द नगर्ने जनाएका छन् ।
त्रिवि शिक्षण अस्पताल महराजगन्जका चिकित्सक डा. सन्तोष उपाध्यायले विरोधस्वरुप निःशुल्करुपमा टिकटबिनै उपचार गर्ने भनिएपनि प्रशासनले भने सहयोग नगरेको गुनासो गरे ।
सरकारले अब पनि माग पूरा गराउन चासो नदेखाए योभन्दा ठूलो विरोधका कार्यक्रम सुरु गर्ने डा. उपाध्ययले बताए ।
शिक्षण अस्पतालमामात्र मंगलबार करिब १५ सय बिरामी आएको अस्पतालले जनाएको छ ।
यता, स्वास्थ्य मन्त्रालयले भने चिकित्सकहरु आन्दोलनमा उत्रिए थप कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको छ ।
मन्त्रालयले आन्दोलन जारी राखे आवासीय चिकित्सकहरुको १५ दिनको बिदा काट्ने, विदेशी विद्यार्थीहरुको हकमा दूतावासमा जानकारी गराउने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्