इलाम । इलाम माई नगरपालिका ८ मैनाचुलीकी सिर्जना लावती राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घण्टाको बाटो ओरोलो झर्छिन् ।
बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुगेकी सिर्जना घर आइपुग्दा १० बज्छ ।
एक गाग्रो पानी थाप्न दुइ घण्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ, सिर्जना भन्छिन् । भरिएको गाग्रो डोकामा बोकेर नाक ठोक्किने उकालो एक घण्टा हिडेपछि बलल घर पुगिन्छ ।
यसरी कष्टकर रुपमा पानी बोक्नु उनको एक्लो बाध्यता होइन सिंगो मैनाचुली गाउँकै नियति हो ।
‘पानीको दुखको त कुरै नगरौं । बिहान ६ बजे आएको मान्छे १० बजेमात्रै घर पुगिन्छ । नाक ठोक्किने उकालो ४५ मिनेटसम्म पानी बोकेर जानुपर्छ । हामीलाई अलिक नजिक हो । अरुलाई त दुई घण्टासम्म लाग्छ’, उनी भन्छिन्, ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने । तर , सबैले आश्वासन मात्र दिन्छन् । कसैले पानीको व्यास्था गरिदिदैनन् ।’
गाउँमा खानेपानी छैन् । खानेपानीका लागि सरकाी तवरबाट कुनै पहल भएको छैन । तर, डाँडाबाट झापासम्मको दृश्य हेर्न प्रदेश सरकारले ४० लाखको योजना त्यहाँ पारेको छ ।
यद्यपि, काम भने सुरु भएको छैन । चुरे क्षेत्रमा पर्ने मैनाचुलीको डाँडो सुख्खा छ । त्यहाँ स्थानीय घण्टौं अप्ठ्यारो बाटोमा यात्रा गरेर पानी बोकेर दैनिकि चलाउँछन् ।
यहाँका अधिकांश महिलाको काम नै पानी बोक्ने र भान्सा टार्ने हो । पानी ल्याउँदै बिहान बित्छ त्यसकारण पिन उनीहरु अरु केही काम गर्न भ्याउँदैनन् ।










प्रतिक्रिया दिनुहोस्