लागुऔषधसहित चार नेपाली र तीन भारतीय समातिए • Image Khabar Image Khabar


लागुऔषधसहित चार नेपाली र तीन भारतीय समातिए


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १७:५९

लागुऔषधसहित चार नेपाली र तीन भारतीय समातिए

काठमाडौं, असोज २ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चारजना नेपाली र तीनजना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार, सीतामढीका ३७ वर्षीय राजा कुणाल, बिहार, बयरगनियाका ३२ वर्षीय राजेशकुमार जैसवाल र ३७ वर्षीय अभिषेककुमार जैसवाल रहेका छन् ।

उनीहरुलाई नयाँबानेश्वर, शान्तिनगरबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुको साथबाट ३११६ एम्पुल डाइजेपाम, फेनार्गन र नुर्फिनन बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बरप्लेटका एउटा स्कर्पियो जीप र एउटा कारभित्र रङको बकेटमा पीठो र चामल राखी त्यसभित्र लागुऔषध लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाली कारोबारीहरु पक्राउ

यस्तै, प्रहरीले काठमाडौं, गोकर्णेश्वरको जम्बुडाँडाबाट लागुऔषधका नेपाली कारोबारीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहाको गोलबजार–४ का ४२ वर्षीय उतिमलाल साह, गोलबजार–३ का २३ वर्षीय अशोक तामाङ, उदयपुरको त्रियुगा–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोसी–७ का २८ वर्षीया पेमा लामा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले डाइजेपाम, फेनार्गन र नुर्फिनन गरी १२ सय एम्पुल बरामद गरेको छ ।

फर्मास्युटिकलहरुले ल्याउने लागुऔषध अवैधरुपमा ल्याउनेक्रम बढेको भन्दै लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले तत्काल नियन्त्रण गर्नेतर्फ ध्यान नदिए विकराल रुप लिनसक्ने बताए ।

पक्राउ परेका चारैजना नेपालीहरु विभिन्न अभियोगमा जेल सजाय भोगिसकेका व्यक्तिहरु भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्