काठमाडौं, असोज २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा उक्लिएको हो । यसअघि, नेपाल १६६औं स्थानमा रहेको थियो ।
दक्षिण एसियाको वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औं स्थानमा छ भने माल्दिभ्स १५३औं स्थानमा छ ।
त्यसैगरी, नेपालभन्दा तल रहेको भुटान १८५औं स्थानमा रहँदा बंगलादेश १८७औं स्थानमा छ । श्रीलंका २०२औं स्थानमा छ भने पाकिस्तान २०३औं स्थानमा रहेको छ ।
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।
त्यसैगरी, इंग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौं, उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, कोलम्बिया नवौं र अर्जेन्टिना दशौं स्थानमा रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्