
काठमाडौं, साउन ८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सही सूचना सम्प्रेषण गर्न सन्चारकर्मीसँग आग्रह गरेका छन् ।
पार्टीनिकट पत्रकारहरुलाई मंगलबार पार्टी कार्यालय धूम्रबाराहीमा बोलाएर उनले सही सूचना जनतासम्म नपुगेको भन्दै वास्तविक सूचना सम्प्रेषण गर्न निर्देशन दिएका हुन् ।
सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा नराख्न पनि आग्रह गरे ।
उनले ‘सानातिना काममा अल्झिने समय नभएकाले सरकारलाई काम गर्न दिन्नँ भन्ने कसैले नचिताए पनि हुन्छ’–भने ।
अस्थिरता र अशान्ति चाहनेले विभिन्न षड्यन्त्र गरिरहेको भन्दै उनले सरकार कसैको दबाबमा नचल्ने पनि प्रस्ट पारे ।
सरकारले रेल र पानीजहाज ल्याएरै छाड्ने उनको भनाइ थियो ।
अस्पतालमा चिकित्सकले हड्ताल गर्न नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले डा. केसीलाई सरकारले उपचार गर्छभन्दा नदिनु विडम्बना भएको पनि बताए ।
सरकारलाई अपदस्थ गर्न षड्यन्त्र : दाहाल
नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले विपक्षीहरुले सरकारलाई अपदस्थ गर्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।
उनले विपक्षीहरुले सरकारकाबारेमा गलत प्रचार गरेको भन्दै त्यसको प्रतिवाद गर्नका लागि कलम चलाउन निकट पत्रकारहरुसँग आग्रह गरे ।
उनले सत्तामा पुगेपछि जनमत जोगाउन गाह्रो हुने भन्दै क्रान्तिकारीले मिहिनेत गर्ने समय आएको पनि बताए ।
अध्यक्ष दाहालले पार्टी र सरकारको रक्षाका लागि पनि लाग्नुपर्ने बेला भएको भन्दै सबैलाई पार्टीहितको काममा लाग्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्