
काठमाडौं, असोज १ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ ।
बुधबार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत्त बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट रु पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
थलीका स्थानीय व्यवसायीलाई बिनाकारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए ।
पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
हालैमात्र बौद्धको प्रहरी प्रमुखकारुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत् हुँदा रु तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका थिए ।
केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि पुनः सेवामा आएका हुन् ।
यसअघि, महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत् प्रहरी नायब उपरीक्षक श्याम राईलाई एक लाख ४० हजार घुससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो । हाल राई निलम्बनमै छन् । रासस
प्रतिक्रिया दिनुहोस्