
काठमाडौं, भदौ ३१ । आउँदो मंसिर १५ गतेदेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी तीव्ररुपले भइरहेको छ ।
सोक्रममा मंगलबार नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित संसदीय उपसमितिले दशरथ रंगशालाका साथै कभर्डहलको निरीक्षण गरेको छ ।
उक्त टोलीलाई जानकारी गराउनेक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले कात्तिक २९ गतेसम्म सबै भौतिक पूर्वाधार तयार भइसक्ने दाबी गरे ।
उनले दशरथ रंगशाला मैदानको परीक्षण मंसिर ३ गते विश्वकप छनोट फुटबलअन्तर्गत् नेपाल र कुवेतबीचको खेलबाट हुने बताए ।
यसैबीच, सांसद जीवनराम श्रेष्ठले भौतिक पूर्वाधार निर्माणको गति हेर्दा समयमै काम सकिनेमा आशावादी रहेको बताए ।
उपसमितिले छिट्टै पोखरामा निर्माणाधीन भौतिक पूर्वाधारको पनि निरीक्षण गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्