काठमाडौं, भदौ ३० । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको सोमबार बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।
यसअघि, जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो ।
तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने/नहुनेबारे अन्योल भएको थियो ।
राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आइसीसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
उनले अब बस्ने आइसीसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए ।
त्यस्तै, नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आइसीसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो ।
त्यसैगरी, आइसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताए ।
उनले निर्वाचन भएपछि औपचारिकरुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आइसीसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्