काठमाडौं, भदौ ३० । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारका कामलाई निगरानी गर्नुपर्ने बताएका छन् । संसदीय समितिका कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गुनासो रहेको उनले जानकारी दिए ।
संसदीय अभ्याससम्बन्धी अन्तरक्रियालाई आज सम्बोधन गर्दै सभामुख महराले संसदीय समितिका सभापतिहरुसँग बसेर एकपटक छलफल गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिएको बताए ।
समितिहरुले अप्ठ्यारोमा पारेको गुनासो प्रधानमन्त्रीले गरेको सभामुख महराको भनाइ थियो ।
सरकारले बाटो नबिराओस् भनेर सल्लाह दिइराख्ने दायित्व आफूहरुको रहेको बताउँदै सभामुख महराले संसदमा उठेका विषयको सरकारले जति धेरै जवाफ दियो त्यति धेरै संसदको प्रभावकारीता बढ्ने बताए ।
शून्य समय र विशेष समयमा उठेका विषयहरु जनताको र देशको विषय हुने भएकाले आफूले धेरै पटक सरकारलाई रुलिङ पनि गरेको उनले बताए । संसदमा प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रश्नोत्तर गर्ने भनिए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण नियमित हुन नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्