'अराजक तत्व'को प्रतिवाद गर्न दाहालको अपिल • Image Khabar Image Khabar


‘अराजक तत्व’को प्रतिवाद गर्न दाहालको अपिल


Imagekhabar
३० भाद्र २०७६, सोमबार १०:२१

'अराजक तत्व'को प्रतिवाद गर्न दाहालको अपिल

काठमाडौं, भदौ ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अराजक तत्वको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थी वर्गमा अपिल गरेका छन् ।

तत्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले हजारौंको बलिदानबाट ल्याएको परिवर्तन, शहिदले देखेको सपना पूरा गर्नका लागि साझा संकल्पको खाँचो रहेको बताए ।

‘अराजक तत्व’हरुले जनतामा भ्रम सिर्जना गर्ने काम गर्न थालेको जिकिर गर्दै दाहालले त्यसको प्रतिवाद गर्न युवा तथा विद्यार्थीहरुलाई विशेष अपिल गरेका हुन् । उनले भने, ‘म तमाम युवा सार्थीहरुलाई, विद्यार्थीहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु, केही त्यस्ता अराजक तत्वहरुले जनतामा भ्रम सिर्जना गर्ने र हत्केलाले सूर्य छेक्न खोज्याजस्तो गरीकन दुस्साहस गर्नेहरुप्रति सतर्क रहन र त्यसको प्रतिवाद गर्न पनि म विशेष रुपले अपिल गर्न चाहन्छु ।’

झण्डै सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि ‘कलिलो’ नै रहेको उल्लेख गर्दै दाहालले यसका विरोधीले यसलाई कलिलोमै निमोठ्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा समाजवादतर्फ अगाडि बढिरहेको यो ‘सिस्टम’ लाई कलिलो मै मास्नका लागि भ्रम, अराजकता, आतंकको वातावरण बनाउन प्रयासहरु हुन थालेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी संगठन र सुदृढिकरणको आवश्यकता औंल्याए । उनले कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनचाहना अनुसारको काम गर्नु पर्ने भन्दै पार्टी संगठनमा जुट्न निर्देशन पनि दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्