एनआरएन युकेको निर्वाचनका क्रममा विवाद • Image Khabar Image Khabar


एनआरएन युकेको निर्वाचनका क्रममा विवाद


Imagekhabar
२९ भाद्र २०७६, आईतवार ०८:४४

एनआरएन युकेको निर्वाचनका क्रममा विवाद

लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदानपछि  विवाद उत्पन्न भएको छ । मतगणना सुरु गर्ने विषयमा छलफल चलिरहेको छ । 

बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए  ।

राति करिब १० बजे तिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकमा खटिएका निर्वाचन समितिका प्रतिनिधि नरेश खपांगीले मतपेटिकाहरु बुझाउन ल्याउंदा शेर सुनार समूहले विरोध जनाएको थियो ।

त्यसपछि दुवै समूह बीच भिडन्तको स्थिति समेत देखिएको थियो । अल्डरशटस्थित एम्पायर हलमा ब्रिटिश पुलिस र उम्मेदवार तथा समर्थकहरुबीच केहि समय घम्साघम्सी समेत परेको थियो ।

अध्यक्षका उम्मेदवार शेर सुनार स्वयं तथा एनआरएन युकेको उपाध्यक्षमा नर्दर्न  आयरल्यान्डबाट निर्विरोध निर्वाचित कानुनविद नारायण कंडेलले निर्वाचन समितिसंग वार्ता गरे पनि निचोड निस्किएको छैन ।

अध्यक्ष पदकी अर्की उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको शेर सुनार समूहले आरोप लगाएको छ । यसबारे छिट्टै लिखित उजुरी निर्वाचन समिति समक्ष बुझाइने शेर सुनार समूहका एक उम्मेदवारले बताए ।

गुरुङ समूहले अल्टरसट र ह्यारो बुथमा निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो मतदान केन्द्रमा चुनाव सकिएपछि मुचुल्कामा सही गर्न अस्वीकार गरेका थिए ।

सुनार समूहको पकड रहेको ठानिने उक्त केन्द्रमा गुरुङ समूहका प्रतिनिधिले आफुहरुप्रति भेदभाव गरिएको भन्दै  मुचुल्कामा सही गर्न अस्वीकार गरेको निर्वाचन गराउन खटेका एक स्वयंसेवकले बताए । यसअघि ११ वटा बुथ केन्द्रहरूमा राति ८ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको थियो ।

ढिलो गरी मतदान शुरु भएको स्कटल्याण्डका २ ओटा मतदान केन्द्रहरुमा भने राति अबेर सम्म मतदानको समय बढाइएको छ ।

झन्डै साढे १३ हजार मतदाता रहेको युकेमा निर्वाचन समितिले १३ ओटा मतदान केन्द्रहरु तोकेको थियो ।

कतिपय केन्द्रमा बिहान मतदान शुरु हुनासाथै पासपोर्टसंगै यूटीलिटि बिल पनि देखाउनु पर्ने भने पछि कैयौं मतदाताहरु फर्किएका थिए ।

पछि निर्वाचन समितिले पासपोर्ट लगायतका फोटो आइडि हेरेर मतदान गर्न दिने नियम ल्याएको थियो ।

पूर्व अध्यक्ष घले अल्डरशटमा

यसैबीच आफ्नी श्रीमती जमुना घले सहित गएको एक साता देखि बेलायतमै रहेका संघका पूर्व अध्यक्ष  शेष घलेले शनिवार अल्डरशटस्थित मतदान केन्द्रमा गइ मतदान प्रक्रियाको अवलोकन गरेका थिए ।

घले दम्पतिसंगै एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य र अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशी पनि अल्डरशट पुगेका थिए ।

एनआरएनएका केन्द्रिय अध्यक्ष पदका उम्मेदवार समेत रहेका कुल आचार्यले शनिवार बिहान साउथ ह्यारो मतदान केन्द्रमा पहिलो मत खसालेका थिए ।

निर्वाचन समितिका अनुसार  निर्वाचनका लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयंसेवक खटाइएको बताइएको छ ।

एक सय भन्दा बढी उम्मेदवार मैदानमा छन् । विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएन युकेप्रति अहिले विश्वभरकै एनआरएनहरुको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्