वन मन्त्रालयमा सरकारी ढुकुटीको दुरुपयोग : भत्ताका लागि एक–एक घन्टाको फरकमा बैठक • Image Khabar Image Khabar


वन मन्त्रालयमा सरकारी ढुकुटीको दुरुपयोग : भत्ताका लागि एक–एक घन्टाको फरकमा बैठक


Imagekhabar
१४ फाल्गुन २०७७, शुक्रबार ०६:११

वन मन्त्रालयमा सरकारी ढुकुटीको दुरुपयोग : भत्ताका लागि एक–एक घन्टाको फरकमा बैठक

काठमाडौं । वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरिएको छानबिनबाट खुलेको छ । 

वातावरण तथा जैविक विविधता महाशाखामातहतको वातावरण प्रभाव मूल्यांकन सुझाब समितिले साढे चार महिनामा एक सय पाँचपटक बैठक बसेको माइन्युट गरेर कर्मचारीलाई १९ लाख २६ हजार बाँडेको छ । कतिसम्म दुरुपयोग गरिएको छ भने बैठकमा सरोकार नै नहुने आर्थिक प्रशासन महाशाखाका कर्मचारीदेखि वातावरण महाशाखा प्रमुखका पिएसम्मले बैठक भत्ता बुझेका छन् ।

राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयले गरेको छानबिनमा महाशाखाका तत्कालीन प्रमुख (हाल सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव) यज्ञनाथ दाहालको नेतृत्वमा बैठकका नाममा आर्थिक दुरुपयोग भएको पाइएको छ । 

साढे चार महिनाको अवधिमा महाशाखा प्रमुख दाहाल, उपसचिव ज्वाला श्रेष्ठ, सहायक वन अधिकृत सुभाषकुमार शर्मा तथा पद नखुलेका मानबहादुर बस्नेत र मनिता कार्कीले एक लाख ५७ हजार पाँच सयका दरले बैठक भत्ता बुझेका छन् । दाहालले आफ्ना पिए र आर्थिक प्रशासन महाशाखाका कर्मचारीलाई समेत भत्ता उपलब्ध गराएका छन् ।

दाहालले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृतलगायत विषयमा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । सतर्कताले आन्तरिक छानबिन गर्न निर्देशन दिएपछि वन मन्त्रालयले उपसचिव ज्ञानेन्द्र मिश्रको नेतृत्वमा समिति बनाएर छानबिन गरेको थियो । २ साउन ०७६ देखि २२ मंसिर ०७६ सम्म एक सय २१ वटा बैठक बसेको र एक सय पाँच बैठकमा भत्ताबापत १९ लाख २६ हजार बाँडिएको छानबिनबाट खुलेको थियो । खाजा, चियालगायतको खर्च समितिले उल्लेख गरेको छैन । 

मन्त्रालयको आन्तरिक छानबिनलाई आधार बनाएर सतर्कताले थप छानबिन गरेको थियो । दैनिक गर्नुपर्ने कामलाई कार्यालय समयअगाडि वा पछाडि बैठकको नाम दिएर राज्य कोषको दुरुपयोग गरिएको सतर्कताको ठहर छ । 

‘आफ्नो दैनिक कार्यलाई बैठकका नाममा कार्यालय समयभन्दा अघिपछिको समयमा गरेको देखाई बैठक समय उल्लेख गरी राज्यको लाखौँ रकम खर्च गरेको देखिन्छ,’ सतर्कताको प्रतिवेदनमा उल्लेख छ । वातावरण महाशाखाको काम नै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अध्ययन तथा स्वीकृति गर्ने, वातावरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने–गराउने हो । 

वन मन्त्रालयका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले एकै दिन चार–चारपटक महाशाखाको बैठक बसेकोमा आश्चर्य व्यक्त गरे । ‘इआइए रिपोर्ट नै ५–६ सय पृष्ठको हुन्छ, बैठकमा ५–७ जनाले टिप्पणी गर्नैपर्छ,’ महाशाखाका पूर्वप्रमुखसमेत रहेका उप्रेतीले भने, ‘दिनमा चारवटा बैठक, त्यो पनि एक–एक घन्टाको फरकमा ? यो त अति भयो ।’ नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्