
पुजन धिताल/ईमेज
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका इटा उद्योग हटाउने अभियानलाई स्थानीयले साथ दिएका छन् ।
नगरपालिकाभित्रका ८ उद्योगको भट्टा चिम्नी भत्काएकोप्रति नगरपालिकाका सामाजिक संस्था र स्थानीयले नगरप्रमुखलाई धन्यवाद दिएका हुन् ।
नगरपालिकालाई धुँवामुक्त बनाउने उद्देश्यका साथ काभ्रेको नमोबुद्ध नगरपालिकाले यही भदौँ ८ गते नगरभित्रका ८ वटा भट्टाचिम्नी भत्काएको थियो ।
सोही कदमप्रति नगरपालिकामा रहेका ४५ वटा सामाजिक संस्था र स्थानीयवासीले नगरपप्रमुख टंकप्रसाद तिमिल्सिनालाई धन्यवाद पत्र समेत हस्तान्तरण गरेका छन् ।
नगरपालिकालाई धुँवामुक्त बनाएकोमा खुसी हुँदै वातावरमैत्री उद्योग स्थापनाका लागि पहल गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
राष्ट्रिय कृषक समूह नमोबुद्धका अध्यक्ष उद्धवप्रसाद हुमागाइँले नगरप्रमुखको कदमलाई आफूहरुले साथ दिन धन्यवाद पत्र दिएको बताए ।
वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका आठ वटा इँटा उद्योगको भट्टाचिम्नी क्रेन लगाएर भत्काएको थियो ।
नगरपालिकाले पूर्वसहमति अनुसार आफ्नो क्षेत्रभित्रका इटा उद्योग गत असार मसान्तसम्म हटाउन निर्देशन दिएको थियो ।
उद्योगीले निर्देशन पालनामा अटेरी गरेपछि नगरपालिका आफैंले भट्टाचिम्नी भत्काएको हो ।
नगरप्रमुख टंकप्रसाद तिमिल्सना इटा उद्योगीले सहमति कार्यान्वयन नगरेपछि सहमतिपत्रमा लेखिएअनुसार नै भट्टाचिम्नी भत्काइएको बताए ।
इँटा उद्योगकै कारण नगरपालिकामा आएका करोडौँका योजना फिर्ता भएकाले अब भने नगर समृद्धिको लागि ढोका खुलेको नगरप्रमुख तिमिल्सनाको भनाइ छ ।
औद्योगिक सञ्चालन ऐन २०५९ अनुसार मानव बस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ ।
त्यस्तै उद्योग मन्त्रालयको कार्यविधि २०७२ ले घनाबस्तीबाट एक किलोमिटर टाढा मात्र उद्योग सञ्चालन गर्न पाइने उल्लेख गरेको छ ।
तर नमोबुद्ध नगरपालिकाकोे भकुण्डेमा मात्रै आठ वटा इँटा उद्योग बस्तीकै बीचमा सञ्चालित थिए ।
इटाभट्टा भत्काउँदा लागेको खर्च पनि व्यवसायीले नै तिर्नुपर्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्