१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


देशभरका अस्पतालहरु ठप्प पार्नेगरी आन्दोलनमा उत्रिन चिकित्सक संघको आह्वान


0
Shares

काठमाडौं, साउन ७ । डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका अस्पताल ठप्प पार्नेगरी आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।

संघले सोमबार अपराह्न एक विज्ञप्तिमार्फत् आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई यस्तो आह्वान गरेको हो ।

आवासीय चिकित्सकहरुले केही दिनदेखि सन्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यबद्धता जनाउँदै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत् स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सन्चालन गर्न आह्वान गरेको हो ।

साथै, चिकित्सकहरुलाई आ–आफ्ना जिल्लामा रिले अनशन, र्‍याली, धर्नालगायतका विरोधका कार्यक्रम गर्न तथा नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि संघले आह्वान गरेको छ ।

काठमाडौं उपत्यकाका चिकित्सकहरु बिहान १० बजेदेखि ५ बजेसम्म बसन्तपुरमा भइरहेको रिले अनशनमा बस्ने जनाइएको छ ।