
प्रज्ञा तिमल्सीना
काठमाडौं, फागुन ९ । सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ ।
भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपालले खरिद गरेको हो जसका लागि सरकारले ९३ करोड रकम सेरम इन्स्टिच्युटलाई बुझाएको छ ।
बाँकी १० लाख डोज खोप भने केही दिनमा आइपुग्ने जनाइएको छ ।
भारत सरकारले अनुदानमा खोप दिएको १ महिनापछि नेपालले खोप खरिद गरेको हो ।
माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो ।
त्यसपश्चात सरकारले माघ १४ गतेदेखि खोप अभियान सुरु गर्यो ।
हालसम्म ३ लाख ८३ हजार ३ सय ९६ जनाले खोप लगाइसकेका छन् ।
सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरत ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने जनाएको थियो ।
तर स्वास्थ्य मन्त्रालयले तयार पारेको सूचीअनुसार धेरै व्यक्ति खोप नै लगाउन आएनन् ।
त्यसपछि सरकारले पहिलो चरणको खोप अभियानलाई फराकिलो बनाउदै पत्रकार, कूटनीतिक नियोगमा कार्यरत व्यक्तिदेखि सरकारी कर्मचारी र बैंकरलाई खोप कार्यक्रममा समेट्यो ।
तर पनि मुस्किलले ४ लाख खोप पनि खपत भएन । हाल अनुदानमा आएको ४७ हजार डोज खोप नै बाँकी छ ।
मन्त्रालयले पहिलो डोज लगाएको ८ सातापछि मात्र दोस्रो डोज खोप लगाउने जनाएको छ ।
सरकारले आइतवार खरिद गरेर ल्याएको खोप फागुन २३ गतेदेखि ६० बर्ष उमेर माथिका व्यक्तिलाई लगाउने तयारी गरेको छ ।
अब भने खोप केन्द्रमा नै गएर खोप लगाउने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालको जनसंख्याको १ प्रतिशत बढी व्यक्तिले खोप लगाइसकेका छन् ।
सरकारले खरिद गरेको खोपले झन्डै १० लाख जनसंख्यालाई पुग्ने छ ।
तर खोपप्रतिको मानिसको संशयका कारण उपलब्ध सबै खोप खपत हुनेमा भने शंका उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस्