चितवन । चितवन मेडिकल कलेजले असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
झडपमा केही विद्यार्थी घाइते भएका छन् । झडपका क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ परेका छन् ।
भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले ७ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विगत केहि दिन यता चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्