प्रजातन्त्र स्थापनाको सात दशकः शासक सर्वाधिकारी, जनता भिखारी ! • Image Khabar Image Khabar


प्रजातन्त्र स्थापनाको सात दशकः शासक सर्वाधिकारी, जनता भिखारी !


Imagekhabar
७ फाल्गुन २०७७, शुक्रबार १३:५५

rajan kuikel article democracy day

राजन कुईंकेल ।

७ फाल्गुण, नेपाल र नेपालीका लागि एउटा युगान्तकारी क्रान्ति दिवसको सम्झना दिन । जुन दिनबाट मुलुक नयाँ विहानीमा प्रवेश गर्‍यो । त्यसै दिन, कालरात्रिपूर्ण जहानियाँ पारिवारिक राणा शासनबाट जनताले आफ्नो अधिकार खोसेर लिए । नागरिक अधिकार स्थापनाका लागि भएको क्रान्तिले सफलता चुमेको दिन । अझ भनौं, राणाका रैतीबाट नागरिक बन्न प्रयास थालेको क्षण । एउटा गौरवमय इतिहास रच्दै प्रजातन्त्रको पारिलो घामको झुल्को देख्न पाएको पल ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठसहितका प्रातःस्मरणीय शहीदहरूको बलिदानीले राणाकालीन अँध्यारो सुरुङबाट मुलक र जनतालाई मुक्त गर्न सम्भव भएको थियो, ०७ सालको क्रान्ति । नेपाली कांग्रेससहितका दलको राजनीतिक संघर्ष र दरबार त्याग्ने राजा त्रिभुवनको साहसको उपज थियो २००७ साल फाल्गुण ७ गतेको प्रजातन्त्र घोषणा ।

दूर्भाग्य, परिवारवाट जनतामा अधिकार खोसेर ल्याएको सात दशक बित्दा पनि नागरिक अधिकार खोसाखोसको नित्य खेलले नेपालको प्रजातन्त्र र नागरिक अधिकारलाई स्थीर रूपमा स्थापित हुन दिएको छैन । आफूसमेत मिलेर ल्याएको नागरिकतन्त्रमा राजा त्रिभुवनले कैची चलाएर थालेको पश्चगमनको शैली, जनताबाट निर्वाचित प्रधानमन्त्री केपी ओलीमा आइपुग्दा पनि उस्तै र ज्यूँका त्यूँ छ ।

सत्तामा पुग्नेले आफूलाई सर्वाधिकारसम्पन्न शासक र जनतालाई रैती देख्ने शैलीको क्रमभंगता हुन सकेको छैन । सात दशकको यस कालखण्डमा संसारले अनेकन फेरो मार्दा पनि शासक सर्वाधिकारी र जनता भिखारी हुने सामन्तवादी संस्कार, नेपालीको नियति बनेर बज्रिरहेको छ ।

आफैहरूको संघर्षले राणाबाट खोसेको नागरिक अधिकारलाई राजा त्रिभुवनलगायत परम्परावादीको कोपभाजनबाट जोगाउन वर्षदिन पनि नपुग्दै वीपी कोइरालालगायतले गर्नुपरेको अथक संघर्षको पुनरावृत्ति सात दशकपछि राजारहित नेपालका शासक केपी ओलीसँग आइपुग्दा पनि उसैगरी गर्नुपरेको छ ।

सत्तामा पुग्नु र टिक्नु नै एक मात्र ध्येय ठान्नेहरुका कारण सात सालको क्रान्तियता बनेको कुनै सरकारले पनि आफ्नो पूरा आयु अर्थात् पाँच वर्ष कटाउन पाएका छैनन् । आफू पदमा पुग्नका लागि जायज नाजायज सबै हर्कत गर्न कसैले पनि बाँकी राखेका छैनन् । २०१५ मा पहिलो आमनिर्वाचन भएर जननिर्वाचित सरकार बन्नुपूर्वको ८ वर्ष होस् वा डेढ वर्षमै जननिर्वाचित सरकारलाई कू गरेर राजा महेन्द्रले सत्ता हत्याएपछिको ३० वर्षे पञ्चायत, कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको आयु पूरा गर्न पाएनन् ।

२००७ देखि २०१७ र २०४६ देखि २०५९ को बहुदलीय काल होस् वा २०१७ देखि २०४६ को निर्दलीय पञ्चायत या २०६४ देखि २०७७ सम्मको गणतान्त्रिक अवधि, देश र जनतालाई राजनीतिक प्रयोगशाला बनाउनेहरुकै बोलवाला रह्यो । प्रजातान्त्रिक समाजवादी नारा दिने वीपी कोइराला, माटो सुहाउँदो व्यवस्था भन्ने राजा महेन्द्र वा अर्थोडक्स कम्युनिष्टलाई जनताको बहुदलीय जनवादमा रुपान्तरण गर्न खोज्ने मदन भण्डारी, तिनले अघि सारेका विचार र नीति पछ्याउन नसक्नेहरु नै तत् तत् पार्टी/संस्थाको मुखिया बन्न पुगे । परिणाम, न विचार न विकास भयो ।

देखिनेभन्दा नदेखिने ‘भूमिगत गिरोह’ सक्रिय बनेको निर्दलीय पञ्चायतमा टुसाएको भ्रष्टाचार, अराजकता, बेथिति र अपराधीकरण, बहुदलीय हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा झाँगिएर विशाल विषवृक्षका रुपमा फैलिएको छ । लाज मानी मानी भ्रष्टाचार गर्ने पञ्चायती शैली, यहाँसम्म आइपुग्दा मुलुकको ढुकुटी उडाउनेहरु सगर्व समाजमा स्थापित हुँदै गएका छन् । नियतवश भ्रष्टाचार गर्ने सीमा भत्काएर, नीतिगत रुपमै देश र जनताको ढुकुटीमाथि ब्रह्मलूट गर्नेहरुको वाहवाही भइरहेको छ । राज्यसत्ता, राज्य संयन्त्रमा नेतृत्व गर्ने राजनीतिक दल, कर्मचारीतन्त्र सबैतिर बिचौलिया, दलाल, माफिया, तस्कर, ठेकेदार, कालाबजारी, साहूमहाजनको बिगबिगी छ ।

राजनीति आदर्श र समाज परिवर्तनका लागि गरिने सेवा नभई, परिश्रम र लगानी गर्नुनपर्ने निरन्तर नाफा आर्जन गर्ने घाटारहित उद्यमका रुपमा विकास भएको छ । समाजका अरु क्षेत्रमा लूट र ठगी गरी नवधनाढ्य बनेकाहरु राजनीतिमा पद किन्दै नीति निर्माण गर्ने संसददेखि सरकारसम्म निष्फिक्री रुपमा पुगेका छन् । प्रजातान्त्रिक–समाजवादी राजनीतिको सपना साँच्नेहरु पर किनारामा धकेलिएका छन् । राज्यसत्ता, नीति निर्माण तहमा होइन, उनीहरुको त आफूलाईभन्दा बढी प्रेम गरेको पार्टी र तिनका नेतासम्म पनि पहुँच छैन । नेता निवास र पार्टी कार्यालयहरुमा धनका बिटा तेस्र्याउने बिचौलिया र तस्करहरुको रजगज छ ।

टुँडिखेल खरीको बोट अगाडी उभिएर गरेको क्रान्ति प्रतिवद्धता र सार्वभौम नागरिकको जनप्रतिनिधिमूलक संस्था संविधानसभामा संविधान घोषणा गर्दाका संवैधानिक कसमलाई लत्याउने शैली सात दशकपछि आइपुग्दा पनि उस्तै मिल्दोजुल्दो छ । व्यक्तिका शासकीय महत्वाकांक्षाका अगाडि नागरिक अधिकार निरीह छ । अझ दास नियतिबाट गुलाममा परिणत हुँदै गएको झुण्ड देख्दा अधिकारप्रतिको निष्पक्ष नागरिक चेत दलीय छायाँमा लाचार छ ।

भाइ फुटको कमजोर घरेलु वातावरणमा लूतो कन्याईंको आनन्द बाँड्न आउने छिमेकी ब्वाँसाहरू झन् बढेका मात्र छैनन्, उल्टो संसारीकरण भएको छ । नेपाली माटो र मनमा विश्वास गर्नेभन्दा त्यस्तै ब्वाँसाहरूको ललीपपमा आफ्नो उन्नयन खोज्ने दलाली राजनीतिकर्मीका कारण संसारकै अतिप्रिय भूगोल र बासिन्दा आज अस्तित्व रक्षाकै चरम संकटमा फसेका छन् । यस्तो गम्भीर परिस्थितिबाट उम्कने प्रण गर्नु क्रान्ति दिवसका दिन हरेक नागरिकको कर्तव्य हुन आएको छ । असलमा क्रान्ति दिवसको यस अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

जय नेपाल, जय नेपाली !!!

प्रतिक्रिया दिनुहोस्