
बुटवल, साउन ७ । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत् प्रा. डा. गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको बताएका छन् ।
नेपाली कांग्रेस डा. केसीका मागलाईभन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको उनले बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नम्बर–२ ले सोमबार आयोजना गरेको स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विगतमा कांग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएको बताउँदै ‘विगतमा शिक्षा र स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने कांगे्रसले अहिले सडकमा आन्दोलन गर्नु अनुपयुक्त छ’–भने ।
उनले सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछि ऊमाथि अहिले चौतर्फी प्रहार भइरहेको बताउँदै भने–‘यातायात क्षेत्रको सिन्डिकेट, काम नगर्ने ठेकेदारमाथिको कारबाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटी व्यवहारको अन्त्य, गैरसरकारी संघ–संस्था र दाताबाट आउने रकमको व्यवस्थापनलगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको हो ।’
उनले प्रा. डा. केसीको काठमाडौंमा अब मेडिकल खोल्नुहुँदैन भन्ने माग मनमोहन कलेजकाविरुद्ध भएको आरोप पनि लगाए ।
मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यी क्षेत्रको लगानीलाई नाफारहित बनाउनुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र तीन वर्षभित्र जनताले अनुभूति गर्नेगरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्तालाई विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गरे । रासस
प्रतिक्रिया दिनुहोस्