काठमाडौं । अमेरिकाले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात औलो रोगविरुद्धको टाफेनोक्विन नामक नयाँ औषधि स्वीकृत गरेको छ ।
अमेरिकी औषधि नियामक निकायका अधिकारीहरुले स्वीकृति दिएको उक्त औषधिको एकै मात्राले भाइभ्याक्स् भनिने बल्झिरहने खालको मलेरिया निको पार्ने दावी उनीहरुको छ ।
विश्वमा वर्षेनी ८५ लाख मानिस प्रभावित भएको भाइभ्याक्स मलेरियाका बिरामीले औषधि खाए पनि उनीहरुको कलेजोबाट परजीवी पूरै नहट्दा रोग बल्झिरहने समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।
तर अब त्यो समस्या हट्ने र भाइभ्याक्स मलेरिया निको पार्न सकिने अमेरिकी अधिकारीहरुको दावी छ । वैज्ञानिकहरुले टाफेनोक्विन नामक औषधिलाई ठूलो उपलब्धि भनेका छन् ।
अब यो भाइभ्याक्स् मलेरियाबाट पीडित विश्वभरका बिरामीलाई दिन सकिने विकल्प तयार भएको जानकारी पनि दिइएको छ ।
सब सहारा अफ्रिकाबाहेकका क्षेत्रमा यसको ठूलो समस्या रहेको छ ।
यस्तो प्रकारको मलेरियाको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा धेरै देखिने गरेको छ । यसबाट बढी मारमा बच्चा–बच्चीहरु पर्ने गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्