
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा पक्षधरताविना छनोट गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले पक्षधरताविना नै प्रशिक्षक छनोट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पदाधिकारी र छनोटकर्तालाई तालिमदेखि खेल प्रतियोगिता सम्म खेलाडी छनोटमा भेदभाव नगर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रूपमा लिएको स्पष्ट पार्नुभयो । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिनुभयो ।
खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको भूगोल अनुसारको खेल उत्पादन गरी प्रतियोगिताहरूमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिनुभयो ।
कोभिड–१९ को संक्रमणको जोखिम न्यून हुँदै आएको भन्दै उहाँले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्