
बारा, भदौ १६ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न रही सजाय तोकिएका १५६ जना फरार अपराधीलाई पक्राउ गरेको छ ।
प्रहरीले हत्या, हिंसा, अपहरण, लेनदेन, कीर्ते, कर्तव्य ज्यानका मुद्दामा सजाय तोकिएका १५६ जना फरार अपराधी पक्रन सफल भएको हो ।
पक्राउ पर्नेहरुमा चोरी–लुटपाटका ३४, काठ तस्कर २५, लागुऔषधका १८, जालसाजी ११, सवारी ज्यानका ११, अपहरण तथा कर्तव्य ज्यानका ८ जनालगायतका रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अदालतबाट कैद सजाय तोकिएर २५ वर्षदेखि हालसम्म फरार अपराधीहरु प्रहरीले विगत एक वर्षयता अभियान नै चलाएर पक्राउ गर्न सफल भएको हो ।
सादा प्रहरी, सुराकीलगायतका विभिन्न शैली प्रयोग गरी फरार अपराधी पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए ।
भारतीय सीमासित जोडिएको जिल्ला भएको र नाता सम्बन्धका कारण यताका अपराधी भारत बस्ने र भारतका फरार अपराधी नेपालतर्फ बस्ने गरेकोसमेत प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्