८ असार २०८१, शनिबार | Sat Jun 22 2024


पर्वतारोहण क्षेत्रबाट इतिहासमै कम रोयल्टी संकलन, २० हजार बढीले गुमाए रोजगारी


0
Shares

नारायणी/विशाल (इमेज)
काठमाडौं, माघ १८ । यस वर्ष कोरोनाका कारण सबैभन्दा मारमा पर्यटन क्षेत्र पर्यो ।

यसमध्ये पर्वतारोहण क्षेत्रले त यो बर्ष इतिहासमै कम रोयल्टी संकलन गरेको छ ।

त्यती मात्रै होईन पर्वतारोहण र पदयात्राको क्षेत्रमा २० हजार बढिले रोजगारी गुमाएको पर्यटन विभागले जनाएको छ ।

नेपालमा वसन्त र शरद ऋतु पर्वतारोहणका लागि उपयुक्त मानिन्छ ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा जाने पर्वतारोहीको संख्या वृद्धि हुने हुँदा यो समयमा बढि रोयल्टी उठ्ने गरेको छ ।

तर यस वर्ष कोरोनाका कारण पर्वतारोहण बन्द गरिदा दुवै सिजनमा पर्वतारोहीको संख्या घट्न गै रोयल्टी संकलन प्रत्यक्ष प्रभावित भएको हो ।

गत वर्ष ५५ करोड बढि रोयल्टी संकलन गरेको विभागले यस वर्ष जम्मा ८० लाख मात्रै संकलन गरेको छ ।

विगतका वर्षको तथ्याक. हेर्दा शरद ऋतुमा मात्रै एक तिहाई पर्यटक नेपाल भित्रिने गरेका थिए ।

तर २०१९ को वसन्तऋतु देखि नै नेपालमा आरोहण बन्द गरिदाँको क्षति तुलना नै गर्न नसकिने बताउँछिन् पर्यटन विभागकी निर्देशक मिरा आचार्य ।

सरकारले गत कात्र्तिक १ गतेदेखि पर्वतारोहण र पदयात्रा खुला गरेपछी भने आरोहीको संख्या बढ्दै गएको छ ।

अघिल्लो वर्ष यो सिजनमा ३९ जना पर्वतारोहीले अनुमती लिएकामा यस वर्ष भने ४३ जनाले अनुमती लिएको विभागले जनाएको छ ।

कोरोनाको कारण नेपालको पर्यटन क्षेत्रमा साढे २ खर्ब बढि क्षति पुगेको आँकलन गरिएको छ ।

यस क्षेत्रका करिब ३ लाख बढि प्रभावित भएको जनाईएको छ ।

पर्यटन क्षेत्र अति प्रभावित क्षेत्र भन्दै सरकारले राहत र पुनर्कर्जा कार्यक्रमको व्यवस्था गरेपनि अझै सम्म पनि राहत पाउन नसकेको बताउनुहुन्छ नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा ।

पर्वतारोहण क्षेत्र पहिलेकै अवस्थामा पुग्न ३ वर्ष लाग्ने बताएको छ ।

सरकारले पर्वतारोहण र पदयात्रा खुला गरेपनि पर्यटक आकर्षित गर्न पनि निश्चित कार्यक्रम नै तय गर्नुपर्ने देखिएको सरोकारवालाहरुको सुझाब छ ।