१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


प्रदेश २ : नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल


0
Shares

हिमांशु चौधरी

जनकपुर, भदौ १५ । प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ़Þदै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो ।

प्रावधानअनुसार प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगाउन दुई तिहाई मत चाहिन्छ । फरक फरक प्रस्ताव दर्ताले दुई तिहाई मतको सम्भावना नदेखिएका कारण यो विषय अनिश्चित हुँदै गएको छ । प्रदेशसभा सचिवालयमा राजनैतिक दल र प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि चार तथा राजधानीका लागि पाँच प्रस्ताव दर्ता गराएका छन् ।

सोमध्ये सत्तासीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएकोप्रति सोही दलसँग आबद्ध सात प्रदेशसभा सदस्यले राजधानी तोक्ने विषयमा फरक प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नामकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी’ नाम प्रस्ताव दर्ता गराएको छ । सो दलका कतिपय प्रदेशसभा सदस्य मिथिला–भोजपुरा–मधेश प्रदेशको वकालत गरिरहेको अवस्थामा जानकी नामको प्र्रस्तावमा ऐक्यबद्धताको आशा झिनो भएको पाइएको छ । सो दलका प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डल प्रदेशमा विकसित जनभावनाको कदर गर्दै राजनीतिक अवस्था, भौगोलिकता र संस्कृतिलाई ध्यानमा राख्दै जानकी नाम दर्ता गराएको बताउँछन् । सोही दलका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकी नामले अन्योलता बढ्ने सम्भावना रहेको बताए ।

नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामको प्रस्ताव अघि सारेको छ । प्रारम्भमा सो दलका कतिपय सदस्य मिथिलाको पक्षमा क्रियाशील देखिए पनि अन्ततः मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएको स्थितिमा सोही दलका चार प्रदेशसभा सदस्यले सोप्रति विमति राख्दै मध्य मधेशको नाम प्रस्तावित गरेका छन् । सो दलका सचेतक उपेन्द्रप्रसाद कुशवाहा छलफल र संवादमार्फत प्रदेशको नामको टुङ्गो लाग्ने बताउँछन् ।

यस्तै सत्तासीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालद्वारा संयुक्त रूपमा मधेश प्रदेशको नाम दर्ता गराइएको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह मधेश आन्दोलनको माग र मधेशी जनताको भावना अनुरूप मधेश प्रदेश नामलाई अघि सारिएको बताउँछन् । प्रदेश राजधानीका विषयमा अधिकांश दलले जनकपुरको नाम अघिसारे पनि क्षेत्रका बारेमा भने एकमत छैनन् । कतिपय प्रदेशसभा सदस्य वीरगञ्जको नाम दर्ता गराइ सो नामप्रति छलफलमा व्यस्त छन् । सत्तासीन दलले राजधानी जनकपुरको नामको प्रस्तावमा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुने गरी पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म क्षेत्रफल तोकेको पाइन्छ ।

सत्तासीन दलकै सात प्रदेशसभा सदस्यले संयुक्त प्रस्तावको विपक्षमा राजधानी वीरगञ्जसहित विन्धवासिनी, पोखरिया, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढको क्षेत्रफलको प्रस्ताव अघि सारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी जनकपुर, परिक्रमा मार्गसहित पूरै धनुषाको प्रस्तावमा छलफल गरिरहेको छ भने कांग्रेसले राजधानी जनकपुरधाम र क्षेत्रफलमा जनकपुरधाम उपमहानगरपालिका प्रस्तावमा बहस गरिरहेको छ । सोही दलका चार सदस्य सोप्रति विमति राख्दै राजधानीका लागि वीरगञ्जको नाममा मत जुटाउन लागिपरेका छन् ।

मुख्य रूपले प्रदेशको नामका लागि मधेश, जानकी र मिथिला नाममा मत जुटाउन दलहरू संवाद गरिरहेका छन् । प्रदेशसभामा सत्तासीन दल समाजवादी पार्टी नेपालका  ३० तथा राष्ट्रिय जनता पार्टी नेपालका २५, नेकपाका ३२ र कांग्रेसका १९ जना सदस्य छन् । वर्तमान अवस्थामा संख्याका दृष्टिले कुनै पनि दलको प्रस्तावले दुई तिहाई मत प्राप्त गर्ने आधार न्यून देखिएकाले यसको टुङ्गो लाग्ने विषय अनिश्चित देखिएको राजनैतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् । उनी मानवीय चिन्तनको इतिहासमा मिथिला क्षेत्रको अनन्य स्थान रहेको आन्दोलनको पृष्ठभूमिमा मधेश र भाषिक, सांस्कृतिक दृष्टिले भोजपुरा महत्वपूर्ण रहेकाले टुङ्गो लगाउन सबैको महत्व र सम्भावनाप्रति सघन संवादको खाँचो औँल्याउँछन् ।

आ–आफ्ना प्रस्तावमा नै दृढ रहेमा गणितीय दृष्टिले दुई तिहाई मत प्राप्त हुन सक्दैन । संवाद गरी एउटै नाममा ऐक्यबद्ध हुने सम्भावनालाई भने नकार्न सकिदैन ।

सभामुख सरोजकुमार यादव एउटै नाममा ऐक्यबद्धताका लागि संवादको क्रमलाई अघि बढाइने बताउँछन् ।

यसैबीच मिथिला क्षेत्रबाट जितेका केही सदस्य मधेशको पक्षमा लागेकामा अभियन्ताहरूले विरोध गरेका छन् । अभियन्ता जीवनाथ चौधरी इतिहास, पुराण प्रसिद्ध मिथिलाको अस्तित्वलाई गौण पार्ने षड्यन्त्रमूलक प्रस्तावप्रति सजगताको आवश्यकतामा जोड दिन्छन् ।

राजनीतिककर्मी शीतल झा सो प्रस्तावले द्वन्द्वको बीजारोपण गरेकाले विवाद लम्बिदै जाने सम्भावना प्रबल देखिएको बताउँछन् । (रासस)