
काठमाडौं, भदौ १५ । नेपाल प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थिल नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ छन् ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन एक हजार १९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका प्रतिनिधिले चिनियाँ ह्याकरले तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको जनाएका छन् ।
राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटीएमबाट सो रकम झिकिएको जानकारी गराएको हो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ पटकसम्म एटीएम प्रयोग भएको हुनसक्ने बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटीएमबाट अनधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
यता, हिजो राति ५ जना चिनियाँ नागरिक पक्राउ परेपछि बन्द रहेको अधिकांश बैंक तथा वित्तीय संस्थाको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।
ह्याकरहरुको आक्रमणको खतरा बढेपछि शनिबार रातिदेखि बैंकहरुको एटीएम सेवा बन्द थियो । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्