Logo २५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026


प्रधानमन्त्रीलाई कालो झण्डाको त्रास, निकाल्न लगाइयो पत्रकारको सल


26
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री तथा मन्त्रीहरु बाहिरी जिल्लाका कार्यक्रममा जाँदा कालो झण्डाको सामना गर्नु परिरहेको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै नेकपाको दाहाल – नेपाल समूह र कांग्रेसलगायत दलका नेता कार्यकर्ताहरुले विभिन्न जिल्लामा सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने गरेका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली चितवन जाने कार्यक्रम थियो । त्यहाँ उहाँको सुरक्षाको विशेष टोलीलाई कालो झण्डाको त्रास थियो ।

यहीँ त्रासले उनीहरुले पत्रकारले घाँटीमा बेरेको कालो सल समेत निकाल्न लगाए । चितवनको पुल्चोक गोन्द्राङ सडक बिस्तारको शिलान्यास गर्ने कार्यक्रमको रिपोर्टिङ गर्न गएकी पत्रकार शान्ता अधिकारीको सल सुरक्षा टोलीले निकाल्न लगाएको हो ।

भरतपुर एयरपोर्टमा पुग्नु भएकी अधिकारीले आफु पत्रकार भएको परिचय दिँदा समेत सुख पाउनु भएन । सिमित व्यत्तिलाई एयरपोर्टमा प्रवेश दिएपनि कालो झण्डाको त्रासले नछोडेको सहजै देख्न सकिन्थ्यो ।

‘प्रधानमन्त्री सुरक्षाको विशेष टोलीले शान्ता जि लाई निक्कै निगरानी गरेको थियो, निगरानी गर्नुको एउटै कारण उहाँको कालो सल पो रहेछ’, पत्रकार अनिल ढकालले भन्नुभयो ‘अन्तमाः घाटीको सल निकाल्नै लगाइयो । सल निकालेपछि अधिकारीले झोलामा राख्नु भएको थियो ।’

त्यत्रो, ‘सुरक्षा घेरामा तोकिएका मान्छे मात्रै छन, पत्रकार महासंघको कार्ड देखाउँदा पनि कालो भएकै कारण लुकाउन पर्यो’, पत्रकार ढकालले आक्रोशित हुँदै भन्नुभयो ‘यति साह्रै डराएर त किन पो आउनुपर्थ्यो र ?’