भारत हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र • Image Khabar Image Khabar


भारत हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र


Imagekhabar
१६ माघ २०७७, शुक्रबार १७:१२

भारत हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र

कञ्चनपुर, माघ १६ । सरकारले शुक्रबारबाट देशभरका नाकाहरु खोल्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाकामा भारत जान हिँडेका नेपालीहरु सीमाक्षेत्रमा अलपत्र परेका छन् ।

सरकारले शुक्रबार बिहान ११ बजेबाट औपचारिक रुपमा चौबिसै घण्टा नाका खोल्ने निर्णय गरेपनि गड्डाचौकी नाकामा भने नेपालीहरुलाई भारत जानमा रोक लगाइएको छ ।

उनीहरुलाई सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुले आधिकारीक जानकारी नआएको भन्दै फर्काएको बताइएको छ ।

उता, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले समेत मेडिकल टिम फर्किसकेको भन्दै नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको छ ।

योसंगै नाका खुलेको सुनेर भारत हिँडेका सयौं युवाहरु गड्डाचौकीस्थित सीमाक्षेत्रमा अलपत्र परेका हुन् । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने सरकारले भारतसँग सीमा जोडिएका नाकाहरु खोल्ने निर्णय गरेपनि आन्तरिक तयारीका कारण शुक्रबारबाटै नाका खोल्न नसकिएको बताउनुभयो ।

उहाँले कोभिड महामारीका बेला स्वास्थ्य सुरक्षासमेत अपनाउनुपर्ने भएकाले सो बारे बैठकबाट निर्णय गरेर नाका खोलिने बताउनुभयो ।

यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा नाका खोल्ने गरिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्