
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, भदौ १४ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बढ्दो प्लास्टिक प्रदूषणको असरप्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणमा लाग्न आह्वान गरेको छ ।
पिउनयोग्य ठहर भएको पानीमासमेत प्लास्टिकका कण भेटिएपछि डब्लुएचओका तर्फबाट यस्तो आह्वान गरिएको हो ।
पिउनयोग्य पानीमा भेटिएका प्लास्टिकका कणहरुले मानव स्वास्थ्यमा ल्याउनसक्ने खतराको आँकलन गरी एब्लुएचओले यस सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने जनाएको छ ।
‘युनिभर्सिटी अफ न्यूयोर्क’ले गरेको एक अध्ययनअनुसार विश्वका प्रसिद्ध पानी कम्पनीहरुले उत्पादन गरेका बोतलका पानीमासमेत प्लास्टिकका कण भेटिएको हो ।
अमेरिका, चीन, भारत, थाइल्यान्डलगायत ९ देशका ११ कम्पनीका २५९ पानीका बोतलमा गरिएको अनुसन्धानबाट प्लास्टिकका कण भेटिएको हो ।
त्यसमध्ये ९० प्रतिशतभन्दा धेरै पानीको बोतलमा प्लास्टिकको कण भेटिएको छ ।
केही समयअघि गरिएको अर्को अध्ययनले दैनिक प्रयोगमा आउने धाराको पानीमा पनि ठूलो संख्यामा प्लास्टिकका कण रहेको पुष्टि गरेको थियो ।
हाल पानीमा भेटिएका प्लास्टिकका कण १५० ‘माइक्रोमिटर’भन्दा ठूलो भएकाले यसले स्वास्थ्यमा तत्काल असर नपुर्याउने विज्ञहरुको भनाइ छ ।
तर, प्लास्टिक टुक्रिँदै गएर ‘नानो पार्टिकल’कारुपमा मानव शरीरमा प्रवेश गरेमा यसले विभिन्न समस्या निम्त्याउने राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा. रवीन्द्र ढकाल बताउँछन् ।
सन् २०१५ को तथ्यांकअनुसार संसारभर प्रयोग भएका २० प्रतिशत प्लास्टिकमात्र ‘रिसाइकल’ गरियो । ५५ प्रतिशत फोहरकारुपमा फ्याँकियो । यसरी फ्याँकिएका प्लास्टिक पानीको स्रोतसम्म पुग्ने विज्ञहरुको भनाइ छ ।
त्यस्तो पानीमा बस्ने माछालगायतका जीवको शरीरमा पनि प्लास्टिकका कण प्रवेश गर्छ । अनि, त्यस्ता जीव खाँदा त्यो कण मानव शरीरमा पनि प्रवेश हुन्छ र त्यसको असर देखिन्छ ।
बढ्दो प्लास्टिक प्रदूषणले यस किसिमको खतरालाई झन् बढाउने देखिन्ने भएकाले प्लास्टिकको प्रयोगपछि उचित व्यवस्थापनमा ध्यान दिनु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्