Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपाले जारी गर्‍यो पार्टी सदस्यहरुलाई अन्तरपार्टी निर्देशन


0
Shares

काठमाडौं, भदौ १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशव्यापी विशेष अभियान सन्चालन गर्ने जनाएको छ ।

पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको ‘अन्तरपार्टी निर्देशन–२’ मा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ ।

अन्तरपार्टी निर्देशनमा अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सन्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सन्चालन गर्ने उल्लेख छ ।

यसअघि, दुई अध्यक्षले हस्ताक्षर गरेर पठाउने गरिएको अन्तरपार्टी निर्देशनमा योपटक अध्यक्ष पुष्पकमल दाहालकोमात्र हस्ताक्षर छ ।

चाँडै एकताका सबै काम सकेर देशव्यापीरुपमा जनता र कार्यकर्ता परिचालन गर्ने नेकपाले जनाएको छ ।

नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपूर उपभोग गर्न निर्देशन दिएको छ ।

तर, सार्वजनिकरुपमा नेतृत्व र नीतिको विरोध गर्न बन्देज लगाएको छ ।

पार्टीको नीति एवं नेतृत्वकाविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाइने ‘सर्कुलर’मा उल्लेख छ ।

नेकपाले जनवर्गीय संगठन र पार्टीका केन्द्रीय विभागहरुको नाम, नेतृत्व टुंगो लगाएको पनि केन्द्रीय सदस्यहरूलाई जानकारी गराएको छ ।

एकीकृत पार्टी नेकपामा अब २५ ओटा जनवर्गीय संगठन र ३३ विभाग हुनेछन् ।

निर्देशनमा नेकपाले एकीकरण प्रक्रिया बाँकी रहेका जिल्ला कमिटीहरुको एकता छिटो सक्न निर्देशन दिएको छ ।

निर्देशनमा एकता प्रक्रियाका क्रममा अहिलेसम्म टुंगिएका विषयहरुबारे जानकारी गराइएको छ ।

त्यस्तै, जनवर्गीय संगठनहरूको संगठनको विधान, कमिटी सदस्यहरूको छनोटलगायतका विषयमा प्रस्ताव तयार गर्ने जिम्मेवारी इन्चार्ज, सह–इन्चार्ज तथा संयोजक, सहसंयोजकहरूलाई दिइएको जानकारी गराउँदै यसका लागि सम्बन्धित नेता–कार्याकर्ताहरुलाई महाससचिव विष्णु पौडेलसित सम्पर्क गर्न भनिएको छ ।