५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


चिनियाँसित नेपाली युवतीको बिहे गराएर महिला तस्करी गर्ने गिरोह पक्राउ


0
Shares

काठमाडौं, भदौ १३ । चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर नेपाली युवतीहरुलाई चीनमा तस्करी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले चारजना युवतीको उद्धार गरेपछि विवाहको प्रलोभन दिएर चीनतर्फ महिला तस्करी हुने गरेको खुलासा भएको हो ।

पक्राउ पर्नेहरुमा चारजना चिनियाँ र ६ जना नेपाली गरी १० जना रहेका छन् ।

पक्राउ पर्ने नेपालीहरुमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेका छन् ।

यस्तै, पक्राउ गरिएका चिनियाँहरुमा चेङ सियाङ तोङ, चाङ तोङहुई, ख्वान काङफिङ र छिन लियाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १२ ओटा मोबाइल, २२ लाख रुपैयाँ, दुई हजार ३०० युआन र १९० अमेरिकी डलर बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

पहिले नेपाली महिलालाई विवाहका लागि मनाउने, उनीहरु तयार भएपछि चीनमा बस्ने दलालमार्फत् बिहे गर्ने चिनियाँहरु नेपाल आउने र नेपालमा ‘कोर्ट म्यारिज’ गरेर लैजाने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

पैसाको प्रलोभन दिएर युवतीका बाबु–आमाको पनि अनुमति लिने र पैसै खर्च गरेर अदालतमा साक्षीसमेत राख्ने गरिएको पनि खुलेको छ ।

तर, एकजना नेपाली युवती मिलाइदिएवापत् बिहे गर्ने चिनियाँबाट १० लाख रुपैयाँसम्म लिने गरिएको पाइएको पनि प्रहरीले जनाएको छ ।

उक्त रकममध्ये नेपाली दलाललाई दुई लाखसम्म, युवतीहरु राख्ने नेपाली दलाललाई ८० हजार र युवतीका परिवारलाई ५०–६० हजार रुपैयाँ दिने गरेको पनि खुलेको छ ।