
काठमाडौं, भदौ १३ । चर्चित सुडान घोटाला काण्डमा सर्वोच्च अदालतद्वारा दोषी ठहर गरिएका शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका भारतीलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरी स्रोतले जनाएको छ ।
सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख रुपैयाँ विगो र जरिवानासहित एक वर्ष जेल सजायको फैसला गरेको थियो । अदालतले दोषी ठहर गरेयता उनी फरार रहँदै आएका थिए ।
उनले सुडान मिसनमा खटिएको नेपाल प्रहरीका लागि आवश्यक सामाग्री आपूर्तिको जिम्मा पाएका थिए । अदालतले ठेकेदार कम्पनी एस्युर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी ठहर गरेको हो । उनीसँगै प्रहरीका तत्कालिन नेतृत्व र पूर्व महानिरीक्षकहरुसमेत दोषी ठहर भएका छन् ।
प्रतिक्रिया दिनुहोस्